विद्यार्थी गुणीय चक्रको १८ ओैं सम्मेलन कार्तिक २४ देखि २६ सम्म

*प्रेस विज्ञप्ति*
*कार्तिक २२, २०८१*

क्वेष्ट नेपालद्वारा आयोजित “बिद्यार्थी गुणीय चक्रको १८औं राष्ट्रिय सम्मेलन” काठमाण्डौ स्थित ब्राइट फ्युचर माबि मा आगामी २०८१ कार्तिक २४, २५ र २६ गते आयोजना हुँदैछ। यस सम्मेलनले नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याउने उद्देश्य राख्दछ, र यसले सम्पूर्ण देशका उत्कृष्ट बिद्यार्थीहरूलाई एकजुट गरि उनीहरूको समग्र विकासमा योगदान पुर्याउनेछ।

सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिहरूको रुपमा क्वेष्ट नेपालका प्रमुख आदर्श व्यक्तित्व, प्रोफेसर डा. दिनेश प्रसाद चापागाई र पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा संघीय सांसद (काठमाण्डौ क्षेत्र नं ९) माननीय कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नेछन्। यस अवसरमा उहाँहरूले कार्यक्रमको महत्त्व र यसको प्रभावलाई रेखांकित गर्दै बिद्यार्थीहरूको समग्र गुणस्तरीय विकासमा यसको योगदानलाई चिन्नेछन्।

कार्यक्रमको पहिलो दिन, अर्थात् कार्तिक २४ गते, नेपाल सरकारका शिक्षा, विज्ञान र प्रविधि मन्त्री माननीय बिद्या भट्टराईले सम्मेलनका विभिन्न कार्यकमहरूको अवलोकन गर्नु हुनेछ। मन्त्री महोदयले सम्मेलनको उद्देश्य र त्यसबाट बिद्यार्थीहरूलाई हुने फाइदाबारे गहिरो दृष्टिकोण प्रस्तुत गर्नु हुनेछ। यस सम्मेलनमा सहभागी हुने बिद्यार्थीहरूलाई नेपालका ७४ जिल्लाहरूबाट ५१२ प्रतिनिधिहरू, १०० भन्दा बढी पर्यवेक्षक, अन्तर्राष्ट्रिय पर्यवेक्षक (भारत र श्रीलंका), शिक्षक, शिक्षिका, विश्वविद्यालयका प्राध्यापक र अन्य शिक्षाविद्हरूले मार्गदर्शन गर्नेछन्। यस सम्मेलनको अध्यक्षता क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले गर्नुहुनेछ।

‘विद्यार्थी गुणीय चक्र’ भनेको एक शैक्षिक कार्यक्रम हो, जसले बिद्यार्थीलाई समग्र गुणस्तरीय जीवनका लागि तयार पार्ने उद्देश्य राख्दछ। २००५ देखि नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा यो कार्यक्रम कार्यान्वयन हुँदै आएको छ। यस कार्यक्रमको उद्देश्य भनेको बिद्यार्थीहरूको शैक्षिक, मानसिक र सामाजिक विकासमा एक समान ध्यान दिनु हो, जसबाट उनीहरूलाई सृजनात्मक सोच र व्यावहारिक दक्षता हासिल होस्।

क्वेष्ट नेपालले यस कार्यक्रमको प्रचार र कार्यान्वयनमा समान दृष्टिकोण भएका शिक्षाविद्हरूसँग मिलेर एक स्थिर र सकारात्मक शैक्षिक वातावरण निर्माण गरेको छ। यस कार्यक्रमले बिद्यार्थीहरूलाई सामाजिक रूपले जिम्मेवार, असल, चतुर र गुणस्तरीय नागरिक बनाउनको लागि कडा मेहनत गर्दै आएको छ।

विद्यार्थी गुणीय चक्रको अवधारणा प्रो. डा. दिनेश प्रसाद चापागाईले १९९९ मा नेपालमा प्रस्तुत गर्नुभएको हो, र यो जापानको उद्योगमा वस्तु र सेवाको गुणस्तर वृद्धि गर्ने चक्रबाट प्रेरित भएको हो। आज यो कार्यक्रम नेपाल मात्र नभएर विश्वका २५ भन्दा बढी देशहरूमा लोकप्रिय र सफल रहेको छ, र यसले शैक्षिक क्षेत्रमा नयाँ दिशाको शुरूवात गरेको छ।

यस सम्मेलनमा भाग लिएका विद्यार्थीहरूलाई विविध शैक्षिक गतिविधिहरूमा भाग लिने अवसर प्राप्त हुनेछ। प्रमुख गतिविधिहरूमा केश स्टडी, क्वालिटी क्विज, प्यानल डिस्कसन्, कोलाबोरेटिव स्टोरी, कला, कोलाज, मनशा स्मृति सर्व गुणीय अवार्ड, पेन्टिङ, एआईसँग सम्बन्धित सीप विकास, र ट्रेजर हन्ट लगायतका प्रतियोगिताहरू रहनेछन्। यी गतिविधिहरू विद्यार्थीहरूको सोचको क्षमता र सिर्जनात्मकतालाई उत्तेजना दिनका लागि डिजाइन गरिएका छन्।

सम्मेलनको आयोजन गर्ने ब्राइट फ्युचर माबि ले कार्तिक २४ गते चन्द्रागिरी नगर क्षेत्रका विभिन्न स्थानमा प्रभातफेरी सहित र्याली आयोजना गर्नेछ, जसमा विद्यार्थीहरू र शिक्षकहरू सहभागी हुनेछन्। र्यालीको उद्देश्य भनेको यस कार्यक्रमको महत्त्वलाई जनतासम्म पुर्याउनु र बिद्यार्थी गुणीय चक्रको सन्देशलाई फैलाउनु हो।

यो सम्मेलन विशेष गरी उनि बिद्यार्थीहरूको लागि एक महत्वपूर्ण मञ्चको रूपमा उभिन्छ, जो बिद्यार्थी गुणीय चक्रमा समाहित भएर आफूलाई एक सर्वगुण सम्पन्न व्यक्तित्वका रूपमा विकास गर्न चाहन्छन्। यस सम्मेलनले बिद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा र दक्षतामा आधारित नेतृत्वको निर्माणमा मद्दत पुर्याउनेछ, जसले तिनीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउनेछ।