गुरू पूर्णिमाको महत्व र आधुनिकताको प्रभाव

भूमिका: गुरू पूर्णिमा हिन्दू, बौद्ध र जैन धर्ममा विशेष सम्मानको दिन हो, जसमा गुरू अर्थात् शिक्षकको योगदानलाई सम्झने, सम्मान गर्ने र कृतज्ञता प्रकट गर्ने गरिन्छ। विशेषगरी हिन्दू धर्ममा यस दिनलाई महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा पनि मनाइन्छ। उनी वेद, पुराण, महाभारत जस्ता ग्रन्थका रचयिता मानिन्छन्। गुरू पूर्णिमा ज्ञानको दीप जलाउने, मार्गदर्शन दिने गुरूहरूलाई सम्झिने एक पवित्र अवसर हो। तर, जति समय अगाडि बढिरहेको छ, त्यति नै गुरूको भूमिकामा परिवर्तन आउँदै गएको देखिन्छ। आधुनिकता, प्रविधि र सामाजिक परिवर्तनले गुरू पूर्णिमाको परम्परागत महत्वमा प्रभाव पारिरहेको छ।

गुरूको परम्परागत भूमिका: पारम्परिक समाजमा गुरू केवल शैक्षिक ज्ञान दिने व्यक्ति मात्र थिएनन्, उनी आध्यात्मिक, नैतिक, व्यवहारिक मार्गदर्शक पनि थिए। गुरू र शिष्यबीचको सम्बन्ध पारिवारिक झैं हुन्थ्यो। गुरूकुल परम्परामा शिष्यहरू गुरूकै संरक्षणमा रहन्थे र जीवनका सबै पक्षमा गुरूकै प्रभाव रहन्थ्यो।

गुरू पूर्णिमाको सांस्कृतिक महत्व: गुरू पूर्णिमा श्रावण शुक्ल पूर्णिमाको दिन मनाइन्छ। यस दिन विद्यार्थीहरू गुरूको चरणमा पुष्पगुच्छा, माला, दक्षिणा अर्पण गरी आशीर्वाद लिन्छन्। यस पर्वले विद्यार्थीलाइ नम्रता, कृतज्ञता र अनुशासन सिकाउँछ। विगतमा गाउँघरदेखि शहरी क्षेत्रमा समेत यस दिन विशेष कार्यक्रम, सम्मान समारोह, भजन, सत्संग आदि गरिन्थ्यो।

आधुनिकताको आगमन र परिवर्तनहरू: विगत केही दशकयता समाजमा आधुनिकता, प्रविधि र भौतिकताको तीव्र विकाससँगै जीवनशैली, सोच र सम्बन्धहरूमा परिवर्तन आएको छ। शिक्षण क्षेत्र पनि यसबाट अछुतो रहन सकेन।

१. डिजिटल युगको प्रभाव: आजको युग डिजिटल युग हो। ज्ञान प्राप्तिको लागि युट्युब, गूगल, अनलाइन कोर्सहरू, कृत्रिम बुद्धिमत्ता (AI) आदि सहज रूपमा उपलब्ध छन्। विद्यार्थीहरू सजिलै इन्टरनेटबाट जटिल विषयवस्तुहरू बुझ्न सक्छन्। यसले गुरूको ज्ञानको एकाधिकार हटाएको छ। अब गुरू मात्र ज्ञान दिने होइन, ज्ञानको सहयात्री बन्न थालेका छन्।

२. औपचारिक शिक्षा प्रणालीको उदय: पहिले गुरूकुलमा शिक्षा लिइन्थ्यो, आज विद्यालय, कलेज, विश्वविद्यालयमा। शिक्षा संस्थागत भएको छ। गुरू र शिष्यबीचको आत्मीय सम्बन्ध प्रतिस्पर्धा, परिणाम र करियर केन्द्रित हुन थालेको छ। यसले परम्परागत श्रद्धा र भावनात्मक सम्बन्धमा कमी ल्याएको छ।

३. व्यावसायिकरण र गुरूको भूमिकामा ह्रास: आज शिक्षा पनि व्यापारको रूपमा हेरिन थालिएको छ। कतिपय शिक्षकहरूले पनि यो पेशालाई सेवा नभई रोजगारीका रूपमा लिन थालेका छन्। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध व्यवसायिक हुन थालेपछि गुरूको प्रेरक भूमिका कमजोर बन्दै गएको छ।

४. अभिभावक र समाजको अपेक्षा परिवर्तन: विगतमा अभिभावकहरूले गुरूको निर्णयलाई सम्मान गर्थे। तर, अहिले धेरै अभिभावक शिक्षकको आलोचना गर्न पछि पर्दैनन्। सामाजिक सञ्जालमा पनि शिक्षकहरूप्रति नकारात्मक टिप्पणीले विद्यार्थीकै दृष्टिकोणमा प्रभाव पार्दछ।

५. मूल्य र नैतिकताको संकट: आधुनिक शिक्षाले प्रविधि, ज्ञान र दक्षता त दिन्छ तर जीवन मूल्य, संस्कार र अनुशासन सिकाउन चुकिरहेको छ। जसको कारण विद्यार्थीमा गुरूप्रतिको श्रद्धा र कृतज्ञताको भावना हराउँदै गएको छ।

गुरू पूर्णिमाको महत्व घट्नुको परिणाम: गुरू पूर्णिमाको महत्व घट्नु केवल एउटा पर्वको महत्व घट्नु होइन, यो हाम्रो समाजमा ज्ञान, संस्कार र मार्गदर्शनको मूल्य घट्नु पनि हो। जब गुरूलाई केवल ‘कक्षा पढाउने व्यक्ति’ का रूपमा हेरिन्छ, तब शिक्षाको आत्मा हराउँछ। यो प्रवृत्तिले अनुशासनहिनता, अहंकार र सामाजिक संकट निम्त्याउँछ।

नयाँ सन्दर्भमा गुरू पूर्णिमाको पुनःस्थापना: यद्यपि समय परिवर्तनशील छ, गुरूको महत्व नघट्नु पर्ने हो। बदलिंदो युगमा पनि गुरूको भूमिका अझ सशक्त, मार्गदर्शक र प्रेरणादायी हुन सक्छ। नयाँ पुस्तालाई आधुनिक प्रविधिसँगै संस्कार, नैतिकता र आदर्शको शिक्षा दिन सक्ने गुरूहरू चाहिन्छन्।

गुरू पूर्णिमा केवल ‘फूल र माला’ को पर्व नभई आत्मिक सम्बन्धको पर्व हो भन्ने बुझाउन विद्यार्थी, अभिभावक र शिक्षक स्वयं अग्रसर हुनु जरुरी छ। यस दिन स्कूलहरूमा विद्यार्थीले आफ्ना शिक्षकमाथि लेख लेख्न, आभार व्यक्त गर्न, आदर्श गुरूको जीवनचर्चा गर्न लगाउनु पर्छ।

निष्कर्ष: गुरू पूर्णिमा कुनै जातीय, धार्मिक वा क्षेत्रीय पर्व मात्र होइन। यो मानव सभ्यतामा गुरूको भूमिकाको उच्च मूल्याङ्कन गर्ने अवसर हो। आधुनिकताको प्रभावले यसको महत्व केही हदसम्म घटाएको भए पनि यस पर्वको आध्यात्मिक, नैतिक र सामाजिक महत्व अझै पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो कर्तव्य भनेको यस पर्वलाई समय सापेक्ष बनाउँदै यसको सारलाई आगामी पुस्तामा सशक्त रूपमा हस्तान्तरण गर्नु हो।

गुरू ज्ञानको समुद्र हुन्, हामी ती सागरका थोपा। आधुनिकताको छालमा तरन्थ्यौं हामी, यदि गुरू नहुन्थे भने दिशाविहीन हुन्थ्यौं। त्यसैले, फेरि एकपटक भन्न मन लाग्छ:

“गुरू बिना ज्ञान अधुरो, गुरू बिना जीवन अधुरो।”

नारायण प्रसाद सापकोटा